काठमाडौं । इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
अवैध सम्पत्ति लुकाएको आशंकामा सोमबार हेटौंडाको सानोपोखरामा रहेको उनको निर्माण कम्पनी ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ तथा निवासमा छापा मारिएको हो। छापामार कारबाहीका क्रममा विभागले आवश्यक कागजात र प्रमाण संकलन गरेको जनाएको छ।
स्रोतका अनुसार काठमाडौंका नक्साल र सुन्धारास्थित स्थानहरूमा पनि विभागले अनुसन्धानका लागि छापा मारेको छ। बानियाँको सम्पत्ति र कारोबारमा अस्वाभाविक गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ।
छापामारका क्रममा घर तथा कार्यालयबाट कागजातहरू संकलन गरी सर्जिमिनसहित मुचुल्का तयार पारिएको स्रोतले जनाएको छ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायमा संलग्न थिए। हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको बताइएको छ।