चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान पहिरो खसेपछि हाल उक्त खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने स्थानमा ठूला ढुङ्गासहित पहिरो खसेको हो।
सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको उनले जानकारी दिए।
बिहानी समयमा पहिरो खसेकाले सवारी चाप बढ्न सक्ने भन्दै प्रहरीले चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ। पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ।