पोखरा– करिब ४२ वर्षअघि निर्माण भएको पोखरा सभागृह अब पुनर्निर्माण गरी आधुनिक र सुविधासम्पन्न बनाइने भएको छ।
पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा करिब २९ करोड रुपैयाँ लागतमा पुनर्निर्माण गर्ने सहमति भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्।
नयाँ डिजाइन अनुसार सभागृहमा अन्डरग्राउन्ड पार्किङ, दुईपांग्रे सवारी पार्किङ, शौचालय, सानो हल, किचेन र चमेनागृह निर्माण गरिनेछ। साथै डिजिटल एलईडी स्क्रिन राखिनेछ, जसले कार्यक्रम सञ्चालनलाई आधुनिक बनाउनेछ।
पुनर्निर्माणपछि सभागृहलाई विभिन्न कार्यक्रम, सभा तथा सम्मेलनका लागि भाडामा दिइनेछ र त्यसबाट आउने आम्दानीले सञ्चालन खर्च र लगानी व्यवस्थापन गरिने महानगरले जनाएको छ।