काठमाडौं । शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देही ले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बेलुका ७ बजेदेखि राति ९ बजेसम्म कार्यालय तथा मातहतका निकायमार्फत विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरिएको थियो ।
अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा १०३ जनालाई नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले जानकारी दिए ।
नियन्त्रणमा रहेका व्यक्तिहरूको आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।