विराटनगर । विराटनगरमा सोमबार बिहान एक जना भारतीय युवकको शव फेला परेको छ । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित डिभिजन वन कार्यालयनजिकै रहेको फलैँचामा ३४ वर्षीय राजु गणेश कामतको शव फेला परेको हो ।
कामत बिहान ९ बजेतिर फलैँचामा मृतावस्थामा फेला परेका थिए । स्थानीयको खबरपश्चात जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।
कामतको मृत्युको कारण भने खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको अनुसन्धान सकिएपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । भारत महाराष्ट्रको मुम्बई घर भएका कामत परिवारसहित विराटनगरमा बसेर ज्याला मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ ।