काठमाडौं – विदेशी बैंकहरूमा रोक्का गरिएका इरानका अर्बौँ मूल्य बराबरका सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत भएको बताइएको छ।
इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी बैंकमा रहेका इरानका सम्पत्ति फुकुवा गर्ने सहमति बनेको हो।
नाम नबताउने सर्तमा स्रोतले रोयटर्ससँग भनेका अनुसार उक्त कदम होर्मुज जलडमरूमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रयाससँग प्रत्यक्ष रूपमा जोडिएको छ।
यसलाई इस्लामावादमा जारी इरानसँगको शान्ति वार्ताप्रति अमेरिकाको गम्भीरता देखाउने संकेतका रूपमा पनि हेरिएको छ।
यसअघि इरानले विदेशमा रोक्का राखिएका आफ्ना सम्पत्ति फुकुवा नभएसम्म वार्तामा नबस्ने चेतावनी दिएको थियो।
तर, अमेरिकी पक्षले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।