विराटनगर – विराटनगर महानगरपालिका–९ मा अवस्थित ग्रिनल्यान्ड कलेजले कक्षा १२ को परीक्षा दिनलागेका विद्यार्थीलाई भव्य कार्यक्रमबीच विदाइ गरेको छ।
शुक्रबार आयोजित विशेष समारोहमार्फत विज्ञान र व्यवस्थापन संकायका कुल ५५५ जना विद्यार्थीलाई आगामी परीक्षाका लागि सफलताको शुभकामना दिँदै औपचारिक रूपमा विदाइ गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले वैशाख १४ गतेदेखि सञ्चालन गर्ने कक्षा १२ को परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरू अन्तिम तयारीमा रहेका छन्।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास र निरन्तर मेहनतका साथ परीक्षा दिन प्रेरित गरे। उनले अघिल्ला वर्षहरूमा कलेजले उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि विद्यार्थीहरूले सोही परम्परालाई कायम राख्ने विश्वास व्यक्त गरे। साथै, ग्रिनल्यान्ड कलेजबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई भविष्यमा सही ढंगले प्रयोग गर्न उनले विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा भावुक मन्तव्य राख्दै कलेज जीवनका सम्झनाहरू साझा गरेका थिए। शिक्षक–विद्यार्थीबीचको सम्बन्ध, सिकाइको यात्रा र आगामी लक्ष्यबारे गरिएको संवादले कार्यक्रमलाई थप भावनात्मक बनाएको थियो।

यस अवसरमा कलेजले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको थियो। साथै, संस्थाको विकास र सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट कर्मचारीका रूपमा अमननाथ मण्डललाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
पछिल्लो एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्रिनल्यान्ड कलेज कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भएको छ। कलेजमा कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा आधुनिक प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन हुँदै आएको छ।
