काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (हाबस कोर्ट)को निवेदन पेश हुँदैछ।
दुवै पक्षले गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै छुट्टाछुट्टै तर एकै समयमा निवेदन पेश गर्ने तयारी गरेका छन्।
ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी गरेकी छन् भने एमाले निकट कानून व्यवसायीहरूले वकालत गर्नेछन्। निवेदन आज दर्ता भएमा सुनुवाइ भोलि हुनेछ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानूनी’ र पूर्वाग्रही भएको दाबी गर्दै राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।