काठमाडौं – नेकपा (एमाले)का २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री ओलीको पक्राउविरुद्ध जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
जनसंगठनहरूको प्रदर्शन देशभरका सबै जिल्लाका सदरमुकाम केन्द्रित हुने जनाइएको छ। साथै, एमालेले चैत १५ गते मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको नयाँ सरकारले जेन–जी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै एमालेका जनसंगठनहरूले विरोधका कार्यक्रम घोषणा गरेका हुन्। यसअघि नै उनीहरूले ओलीलाई पक्राउ गरिए प्रतिरोधमा उत्रने चेतावनी दिएका थिए।
प्रहरीले ओलीलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि आज बिहान गुण्डु स्थित निवासबाट पक्राउ गरेको थियो।