कोलम्बिया – कोलम्बियाली वायुसेनाको एक सैन्य विमान उडान भर्ने क्रममा सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
१२१ जना सवार रहेको हर्कुलस सी–१३० विमान दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको हो। विमान उडान भरेको स्थानबाट करिब १.५ किलोमिटर टाढा जंगलमा खसेको बताइएको छ।
पुटुमायो राज्यका गभर्नर जोन गेब्रियल मोलिना ले ३४ जनाको मृत्यु पुष्टि गर्दै २१ जनाको पहिचान हुन बाँकी रहेको जानकारी दिएका छन्। विमानमा ११० सैनिक र ११ चालक दलका सदस्य रहेका थिए।
रक्षामन्त्री पेड्रो सान्चेज का अनुसार विमान धावनमार्गबाट केही दूरीमै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि उद्धार टोली परिचालन गरिएको छ र ८० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
राष्ट्रपति गुस्ताभो पेट्रो ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘गम्भीर र कहिल्यै हुनु नपर्ने दुर्घटना’ बताएका छन्। उनले सैन्य विमानको आधुनिकीकरणमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार अधिकारीमाथि कारबाही हुने चेतावनी दिएका छन्।