काभ्रे – गएरातिको वर्षापछि रोशी खोला मा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा आज बिहान करिब ३:३० बजेदेखि सडक अवरुद्ध भएको हो।
गत वर्षको बाढीपहिरोले क्षति पुर्याएपछि उक्त क्षेत्रमा खोलामै अस्थायी सडक बनाएर सञ्चालन गरिएको थियो। पानीको बहाव उच्च रहेकाले बहाव घटेपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने जनाइएको छ।जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजू का अनुसार सडक खुलाउने प्रयास भने सुरु भइसकेको छ।
यसैबीच राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले बिहानैदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ। धुलिखेलको काभ्रेभञ्ज्याङ, भकुण्डे तथा पूर्वतर्फबाट काठमाडौँ प्रवेश गर्ने नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारी रोकिएको प्रहरीले जनाएको छ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।