विराटनगर । सुशासन, भ्रष्टाचारमुक्त देश र राजनीतिमा नयाँ पुस्ताको आगमनको मागसहित गत भदौमा जेनजी विद्रोह भयो । जसअनुसार कांग्रेस रुपान्तरित भयो भने अन्य दलहरूले नयाँ पुस्ताका लागि बाटो छोडे । यसपालिको संसदमा रास्वपाबाट निर्वाचित अधिकांश युवा पस्ताको प्रतिनिधित्व रहन्छ । तर, एमालेले समानुपातिकतर्फ पाउने १६ जना सांसदको नाम टुंगो लगाउँदा पदाधिकारीलाई मात्र छनोट गरेको छ । त्यो पनि पाका उमेरका ।
अध्यक्ष केपी शर्मा ओलीले छानेको समानुपातिकको सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ । प्रत्यक्षतर्फ निर्वाचन लडेका सबै पदाधिकारी पराजित हुँदा केन्द्रीय सदस्यहरू सुहाङ नेम्वाङ, क्षितिज थेबे, ऐन महर र मोहम्मद इस्तियाक राईले जितेका छन् । उमेरले सुहाङ ३६, क्षितिज ३८, ऐन ४१, इस्तियाक ४६ वर्षका छन् ।
९ जना जित्ने मध्येका बाँकी सांसद पनि तुलनात्मक कम उमेरका छन् । यज्ञबहादुर बोगटी ५०, गणेशसिंह ठगुन्ना ५७, राजेन्द्र राई ५९, अर्जुनकुमार कार्की ६२ र लक्ष्मीप्रसाद पोखरेल ६३ वर्षका छन् । यससँगै संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ ।