विराटनगर । जेनजी विद्रोपछि गठित सरकारमा मन्त्री बन्ने तरखरमा रहे पनि अन्तिम समयमा रोकिएका खगेन्द्र सुनार हालै सम्पन्न चुनावको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित सांसद बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी भएका छन् ।
उनी नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन् । दलित अभियन्ता तथा रास्वपाका केन्द्रीय सदस्य सुनारले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्ललाई नौ हजार ९३६ मतले पराजित गरेका थिए ।
यसपालि चुनावी मैदानमा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित उम्मेदवार थिए । दुई सय ३२ मध्ये करिब ११२ जना दलित स्वतन्त्र उम्मेदवार थिए । अधिकांश स्वतन्त्र उम्मेदवारले एक सय भोट पनि कटाउन सकेनन् । रास्वपाले दुई वटा निर्वाचन क्षेत्रमा दलितलाई उम्मेदवार बनाएको थियो । तर, इलाम १ का रास्वपाका उम्मेदवार विमल गदाल कांग्रेसका निश्कल राईसँग पराजित भएका थिए ।