ताप्लेजुङ। बाँदरलाई ढुंगाले हिर्काउँदै अमानवीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल पुलिस अन्तर्गतको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोबारे विभिन्न निकाय तथा संघसंस्थाबाट चासो व्यक्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा भिडियो पोस्ट गर्ने व्यक्ति हिलिहाङ गाउँपालिका–२ निवासी १९ वर्षीय नेत्रलाल नेम्बाङ रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। बाँदरमाथि अमानवीय तरिकाले ढुंगा प्रहार गर्दै कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।