विराटनगर । लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । गत वर्षको १८ अक्टोबरमा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्यापर जस्टिन क्लार्क स्यामुएललाई इङ्गल्याण्ड र वेल्सको केन्द्रीय फौजदारी अदालत ओल्ड बेलीले मंगलबार १२ वर्षको जेल सजाय सुनाएको हो ।
४१ वर्षीय गेट्सलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै अदालतले १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत ठहर गरेको हो । उनले मादक पदार्थको सीमा नाघेर सवारी चलाएको र जोखिमपूर्ण ड्राइभिङ गरेको दुईवटा थप अभियोगसमेत सामना गरेका थिए ।