काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई र पार्टीलाई गरिएको विश्वासलाई भोटमा बदल्न कार्यकर्तासँग आग्रह गरेका छन्।
मंगलबार सुनसरी–२ को झुम्कामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई जिताउन अपिल गरेका हुन्।
‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ,’ थापाले भने, ‘अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी जिम्मेवारी पूरा गर्नेछु।’
सभापति थापाले कांग्रेसले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतामाझ स्पष्ट रूपमा राख्न नेताकार्यकर्तालाई आग्रह गरे।
‘म तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ उनले भने।
उनका अनुसार बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि स्पष्ट आधारसहित काम गर्नेछ।