झापा– झापामा सवारी दुर्घटनाको क्रम बढ्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो २५ दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।
माघ १ गतेदेखि माघ २५ गतेसम्मको अवधिमा यी दुर्घटना भएका हुन्। पछिल्लो घटनाअन्तर्गत अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ।
बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो।
यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ। बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
माघ २१ गते बिहान अर्जुनधारा–३ को गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका बाँस्कोटालाई ठक्कर दिएको थियो। स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन्।
यसअघि पनि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो। माघ १ गते एकैदिन तीनजनाले ज्यान गुमाएका थिए। त्यसयता जिल्लामा प्रायः दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।