मोरङ – मोरङको सुनवर्षि नगरपालिका–१ गिर्दलियास्थित मुस्लिम समुदायको बस्तीमा गएराति भएको भीषण आगलागीले ठूलो क्षति पुर्याएको छ। आगलागीका कारण ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा ८ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।
प्रारम्भिक विवरणअनुसार आजात मियाँको घरमा विद्युत् सर्ट भई राति करिब १० बजे आगलागी सुरु भएको हो। साँघुरो बस्ती र घरहरू नजिक–नजिक रहेकाले आगो तीव्र रूपमा फैलिँदा आजात मियाँको घर तथा किराना पसलसहित स्थानीय अलाहदिन मियाँ, घोता मियाँ, फर्मु मियाँ र असलम मियाँलगायतका घरहरू पूर्ण रूपमा जलेका छन्।
आगलागी नियन्त्रणका लागि पथरी शनिश्चरे, रंगेली, कानेपोखरी र बेलबारीबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा लामो समयपछि आगो नियन्त्रणमा लिइएको थियो। आगो थप फैलिन नदिन केही घरहरू भत्काउनुपर्ने अवस्था समेत आएको थियो।

आगलागीमा आजात मियाँको घरमा रहेको एउटा ब्याउने गाई जलेर मृत्यु भएको छ भने दर्जनौं पशुचौपाया घाइते भएका छन्। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद र दैनिक उपभोग्य सामग्री पूर्ण रूपमा जलेर खरानी भएको स्थानीयले बताएका छन्।
घटनापछि पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। स्थानीयवासीले प्रभावित परिवारहरूका लागि तत्काल राहत, खाद्यान्न, कपडा तथा अस्थायी बासको व्यवस्था गर्न स्थानीय तह र सरोकारवाला निकायसँग माग गरेका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको जनाइएको छ।
