काठमाडौं – वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न देश पठाइदिने भन्दै रकम असुली ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–९ निवासी ४४ वर्षीय कृष्ण कुँवर छन्। उनले सर्बिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
त्यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी रोमानिया पठाइदिने बहानामा २ लाख २५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी २६ वर्षीया मनिषा अधिकारी क्यानडा पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा समातिएकी छिन्।
यसैगरी, चितवनको राप्ती नगरपालिका–३ का २७ वर्षीय सरल आचार्य युएई पठाइदिने भन्दै २ लाख ६२ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।