विराटनगर । सुनसरीको कोशी गाउँपालिकाबाट गुडियाभित्र लुकाइएको १० किलो गाँजा बरामद भएको छ भने एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्रबहादुर राई रहेका छन् ।
कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ यात्रुवाहक बस रोकी जाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला परेको थियो ।
बिहीबार साँझ करिब ६ः३० बजे ती डलहरू खोलेर जाँच गर्दा १०.९४ किलोग्राम गाँजा भेटिएको थियो ।
लगत्तै प्रहरीले सोही बसमा सवार राईलाई नियन्त्रणमा लिइएको थियो । उनले उक्त डल आफ्नो भएको स्वीकार गरेका थिए ।