एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १८ वर्षको उमेरमा अस्ट्रेलिया पुगेकी थिइन्, नेपालकी बिप्लवी मगर । अवसरले भरिपूर्ण सहरमा अध्ययन गर्ने चाह राखेर सिड्नी पुगेकी बिप्लवीले पढाइसँगै जागिर थालिन् ।
उमेरले २१ पुग्नै लाग्दा अर्थात् सन् २०२१ मा उनले सिड्नीको नर्थवेस्ट क्षेत्रमा रहेको म्याड मेक्स रेस्टुरेन्टमा काम गर्न थालिन् । त्यसको दुई वर्ष बितेपछि उनलाई मानसिक रूपमा ‘टर्चर’ दिइन थालियो ।
सन् २०२३ देखि उक्त रेस्टुरेन्टका म्यानेजर शेर खानले बिप्लवीलाई यौन दुर्व्यवहार गर्न थाले । खानले उनलाई अश्लील प्रश्नहरू सोध्ने, अश्लील सामग्री देखाउने र यौन खेलौना देखाउने जस्ता क्रियाकलापहरू गरेका थिए ।
६२ वर्षका शेर खानले बिप्लवीलाई कहिले आफूसँग कारमा चढ्न भन्थे भने कहिले सेक्स टोइज देखाउँदै यसको प्रयोग गर्ने विधिबारे जानकारी दिन खोज्थे । यो क्रम निरन्तर एक महिनाजति चल्यो ।
शेर खानका हर्कतहरूबीच उनले सँधै नकार्न खोज्थिन् । उक्त फ्रेन्चाइज रेस्टुरेन्टका मालिकले निरन्तर रूपमा यौन दुर्व्यहार गरिरहेपछि बिप्लवी मगर मानसिक तनावमा परेका थिइन् । जसकारण लामो समयसम्म उनी काम गर्न पनि असमर्थ भइन् ।
एक आप्रवासी विद्यार्थी भएका कारण हेल्पलेस महसुस गर्न थालेकी उनले रेस्टुरेन्टमा काम छोडिन् । करिब अढाइ वर्ष उनले कतै काम गरिनन् । कोठाबाट बाहिर पनि निस्किनन् ।
सामाजिक त्रासका कारण उनी बाहिर जान डराउँथिन् । यसबीचमा उनले आँट गरेरै आफ्ना पूर्व बोस खानविरुद्ध मुद्दा लड्ने अठोट गरिन् । नभन्दै अहिले न्यायालयले २५ वर्षीया बिप्लवीको पक्षमा फैसला गर्दै खानलाई जेल पठाएको छ ।
पूर्वप्रबन्धक खानलाई अस्ट्रेलियाको संघीय अदालतले दोषी ठहर गरेको हो । अदालतले शेर खानको बचाउलाई अस्वीकार गर्दै बिप्लवी मगरको बयानलाई विश्वसनीय र स्पष्ट ठहर्यायो ।
अदालतका न्यायाधीश रोबर्ट ब्रोमविचले शेर खानको बचाउलाई ‘अस्वीकार्य’ र ‘अशोभनीय’ भन्दै थप क्षतिपूर्ति आदेश दिएका थिए । यसका साथै, बिप्लवीलाई तीन लाख पाँच हजार अस्ट्रेलियाली डलर अर्थात् नेपाली दुई करोड ७९ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिने निर्णय फैसला गरेको छ ।
उनलाई एक लाख ६० हजार अस्ट्रेलियाली डलरको सामान्य क्षतिपूर्ति र एक लाख ३० हजार अस्ट्रेलियाली डलरको गुमेको आम्दानीको क्षतिपूर्ति पनि प्रदान गरिएको छ ।
यो फैसला अस्ट्रेलियामा यौन दुर्व्यवहारसम्बन्धी हालसम्मकै सबैभन्दा ठूलो क्षतिपूर्ति रकमको रूपमा लिइएको छ ।
यसअघि सन् २०२३ मा एक ज्वेलरी स्टोरकी कामदारमाथि भएको यौन दुर्व्यवहारको मुद्दामा दुई लाख ६८ हजार अस्ट्रेलियाली डलर क्षतिपूर्ति भराइएको थियो ।
त्यसबाहेक फ्रेन्चाइज रेस्टुरेन्टबाट खानलाई हटाइएको छ भने बिप्लवीको रेन्टुरेन्टमा पुनर्बहाली भएको छ । विप्लबीले शीर ठाडो पारेर सोही रेस्टुरेन्टमा काम थालिसकेकी छन् ।