संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको हो ।
गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ ।
लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।
उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा बिहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको हो ।
घटनाको अनुसन्धानका लागि प्रहरीले युनिकाका बुबा गोपाल र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिएको छ ।