विराटनगर । मोरङको रंगेली नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ निचामारी चोकमा सोमबार दिउँसो बसले बालिकालाई ठक्कर दिएको थियो ।
कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले दिउँसो २ः२० बजेतिर ठक्कर दिँदा रंगेली–७ की १३ वर्षीया मीरा मण्डलको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ दिउँसो २ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।
बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका छन् । तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ । प्रहरीका अनुसार दुर्घटनालगत्तै जम्मा भएको आक्रोसित भिड एक्कासि ढुंगामुढा र तोडफोडमा उत्रिएको थियो ।