काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेताहरूलाई नियन्त्रणमा लिएको छ ।
राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई आइतबार प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । यसबीचमा, उनीहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरू माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् ।
राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ ।
कार्यकर्ताहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन सुरु गरिसक्दा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू भने सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा थिए ।
प्रहरीले उनीहरूलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो ।
त्यसपछि उनीहरूले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।
प्रहरीले भने पम्प्लेट खोसेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।