काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजावादीको आन्दोलनमा भएको जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार एक भिडियो सामग्री पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ । कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु । आजको सानो क्लिप । अहिलेलाई यत्ति भनेँ । हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन् ।
यसैगरी, उनले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन् ।
व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनहरु कुनै नेताको नियन्त्रणमा नहुने भन्दै यो सुरुवात मात्र भएको चेतावनी दिएका छन् ।
उनले आजको आन्दोलनमा भएको क्षतिमा प्रश्न गर्नेहरुले अघिल्ला आन्दोलनहरु कति शान्तिपूर्ण थिए भन्दै प्रतिप्रश्नसमेत गरेका छन् ।