बैतडी । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गरेका छन् ।
६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्याइएकाे हो ।
सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो ।
गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताए ।
आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको प्रकाशले बताए ।
आइतबार २५ हजार रुपैयाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्याइएकाे उनले बताए ।
गाउँमा समाजमा अहिले पनि गैर-दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताए ।
गाउँ-समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन । यद्यपि, राति शव कुर्न भने गैरदलित पनि आएका थिए ।
प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक आठ हजार तलब पाउने गरी निजी स्रोतमा शिक्षण गर्दै आएका छन् ।
३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत हुन् ।
श्रमदानमा गाउँमा बत्ती बाल्ने बेला प्रकाशले बिजुलीका पोल बोक्न सहयोग गरेकाले प्रकाश सहयोगी भावनाको व्यक्ति भएको छिमेकी ज्ञानेन्द्र ऐरीले बताए ।
प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित-गैरदलित गरी करिब तीन सय मानिसको बसोबास छ ।
गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलितसमेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाएका थिए ।