विराटनगर । शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक हुन्छ । तर, जाडो महिनामा अन्य समयको तुलनामा कम पानी पिउने गरिन्छ ।
जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ ।
जाडोमा धेरैजसो मानिस तातो पानी पिउन रुचाउँछन् । तातो पानी पिउनुका आफ्नै फाइदाहरू छन् ।
तर, तातो पानीले तिर्खा नमेट्ने भन्दै कतिपय मानिस जाडोमा पनि चिसो पानी नै पिउने गर्छन् ।
अपर्याप्त पानीको सेवनले, विशेषगरी जाडो महिनामा, शरीरमा डिहाइड्रेसन हुनसक्ने पोषण विज्ञ स्वेच्छा बस्नेत बताउँछिन् ।
उनका अनुसार शरीरमा पानीको मात्रा नपुग्नाले ओठ फुट्ने, नाकबाट रगत बग्ने, सुख्खा खोकी, कब्जियत, टाउको दुख्ने, थकान, मांसपेशी दुख्ने, छाला सुक्खा हुने र एक्ने जस्ता सामान्य लक्षण र रोगहरू निम्तिन सक्छ ।
जाडो महिनामा शरीरमा पसिना नआउने भएकोले मानिसले पर्याप्त पानी पिउन बिर्सिने उनको भनाइ छ ।
त्यस्तै, अन्य मौसमको तुलनामा जाडोमा मानिस कम सक्रिय हुन्छ । चिसो वातावरणमा, मिर्गौलाले वास्तवमा धेरै पिसाब उत्सर्जन गर्छ, त्यसैले शरीरमा पानीको सन्तुलन बनाइराख्न आवश्यक हुन्छ ।
जाडोको महिना भए पनि दैनिक कम्तिमा तीनदेखि चार लिटर पानी पिउनुपर्ने उनले सुझाएकी छिन् ।
जाडोमा चिसो पानीभन्दा पनि मनतातो पानी, सुप, रस भएको फलफूलको सेवन गरी शरीरलाई हाइड्रेट राख्न आवश्यक हुने उनी बताउँछिन् ।
वातावरणमा मर्करीको स्तर खस्कँदा चिसो पेयको सेवन गर्नु दिमागमा आउने अन्तिम कुरा हुन सक्छ ।
तर दैनिक तरल पदार्थको सेवनमा कमी आए मानिसलाई प्रायः भोक बढी लागेको महसुस हुनसक्छ । जसले अस्वस्थकर खानेकुरा खाने लोभ निम्त्याउँछ ।
यस्ता खानाले मोटपनाको जोखिम पनि बढ्छ । जाडोमा तातो पेयपदार्थहरू, जस्तै चिया वा कागतीसहितको तातो पानी, र सुपले शरीरलाई न्यानो बनाउनुका साथै पेट पनि भरेको अनुभव गराउँछ ।
शारीरिक रूपमा न्यानो चीजहरू, जस्तै तातो पानीले नुहाउने वा तातो पेयपदार्थको सेवन गर्नाले मानिसहरू खुसी हुने तथा एक्लो महसुस नहुने धेरै अनुसन्धानहरूले देखाएका छन् ।