धरान । सुनसरीको धरान उप-महानगरपालिका-४ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
३७ किलो गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कारसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुस १२ गते दिउँसो विशेष सूचनको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै कार र चालक उदयपुर बेलका नगरपालिका-९ का २३ वर्षीय तीर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूउपर आवश्यक कानुनी कारवाही र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।