छन्द : सारवती
देह चढाउँछु आज बली
रक्त बगाउँछु देश भनी
पोख्दछु कर्म र शिल्प यतै
कर्मठ एक युवा हुँ म नै
सक्छु बदल्न स्वयम् दुनियाँ
पूर्ण गरी जनका सपना
सुन्दर राष्ट्र बनाउँछु मै
कर्मठ एक युवा हुँ म नै
लड्दछु जोस र जाँगरले
देश सिँगार्दछु पौरखले
सिर्जनको प्रतिमूर्ति हुँ मै
कर्मठ एक युवा हुँ म नै
दीप जलाउँछु चेतनमा
भ्रम हटाउँछु भूतलमा
हुन्न विदेश पलायन नै
कर्मठ एक युवा हुँ म नै
प्राण यहीँ बलिदान गरी
एक नयाँ इतिहास रची
गर्छु यहाँ परिवर्तन नै
कर्मठ एक युवा हुँ म नै !