‘ऊबेला म पढ्न जेहेन्दार थिएँ ।’
म प्रथम हुन्थेँ भने, अर्को साथी द्वितीय हुन्थ्यो । अर्थात् फस्ट ब्वाय र सेकेन्ड ब्वायपछि अरू क्रमशः अरू ब्वाय अनि गर्ल हुन्थे ।
रुचि थियो सानैमा पढ्न । कम्पिटिसन चल्थ्यो, पढाइमा । एकसालको वार्षिक परीक्षामा सेकेन्ड ब्वाय प्रथम भइदिन्थ्यो । म सेकेन्ड हुन्थेँ । कमजोर भएछु पढाइमा भन्दै पुन: प्रयास गरिन्थ्यो । फेरि परिणाम प्रथम हुन्थेँ ।
पढाइको रफ्तारसँगै हाइ स्कुल प्रवेश गर्यो । हामी प्रथम ब्वाय र सेकेन्ड ब्वाय छुटिनौं । लगनशील भएर पढ्दै बढ्दै थियौं ।
कक्षा उक्लिँदै जाँदा, मास्टर साहबहरूले कमजोर विद्यार्थीहरूलाई अगाडि बेन्च, पढाइमा बढी जान्नेहरूलाई पछाडिको सिटमा बस्न तालिका मिलाए ।
म प्रथम छात्र भएकोले सिट पछाडि । सेकेन्ड साथी अघि पर्यो । म पछि परेँ । साथी छुटेपछि न्यास्रो लाग्यो । खैर चित्त बुझाएँ ।
सात कक्षा पढ्दा पढ्दै सहर पसेँ। गाउँजस्तो पढाइमा वातावरण मिलेन । फिलिम हेर्ने बानी बस्न थाल्यो । लड्दै पढ्दै बढ्दै गएँ । कलेजको मुख त देखियो । तर एड्मिसन हुने चान्स नै पाइनँ ।
त्यही सेकेन्ड साथी अचानक बजारमा भेट भयो । उसैले बोलायो । ‘ओइ फस्ट ब्वाय के छ खबर ?’ फर्केर हेरेँ । ‘ओहो तँ यहाँ हाम्रो सहरमा ?’ ‘हो यार ।’ उसले भन्यो ।
फेरि कोट्याएर सोध्न थाल्यो, ‘सहर पसेर पढाइ कहाँ पुर्याइस् ?’ मैंले हाँस्दै जवाफ फर्काइदिएँ । ‘पढाइ मैंले फिलिम हलसम्म पुर्याएँ ।’
ऊ मजाक सोच्दै थियो । र, भन्दै थियो, ‘मजाक नगर न ।’ मैंले सोध्न थाले उसलाई, ‘तैँलेचाहिँ, कहाँ पुर्याइस पढाइ ?’ उसले भन्न थाल्यो । ‘डिग्री पास गरेर, खरिदारमा जागिर खाँदैछु ।’ मैंले यति भनें, ‘लु बधाई छ ।’
मेरो पढाइ र, पेशाको निक्यौल निकाल्न कसरत गर्दै थियो । मेरो हातमा पत्रिका थियो । उसलाई पत्रिका हातमा दिएँ ।
ऊ भन्न थाल्यो, ‘पत्रकार भइस् ?’ मैंले मुन्टो हल्लाएँ । ‘होइन’ भनें । पत्रिका हेर्दै थियो । भन्न थाल्यो, ‘तँ, साहित्यकार पो ? लास्ट बेन्चमा बसेर, साथी साहित्यकार पो भएछ ।’
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०८०/१०/२४