गोठगाउँ । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँमा आयोजित नवरात्री दुर्गा पूजाबाट २० लाख रुपैयाँ संकलन भएको छ ।
असोज १७ गते घटस्थापनाको दिनबाट सुरु भएको पूजाबाट २० लाख रकम संकनल भएको आयोजक सामाजिक मिलन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अध्यक्ष गंगानाथ पोखरेलले विभिन्न २०० जना दाताहरूबाट संकलित रकम ज्येष्ट नागरिक भवन निर्माणमा खर्चिने जानकारी दिए ।
उनका अनुसार उक्त भवन सुन्दरहरैंचा-७ मै निर्माण गर्न भवन खोज्ने काम गरिने छ ।
आगामी मंसिर महिनामा संस्थाको वार्षिकोत्सवको अवसर पारेर उक्त भवन शिलान्यास गर्ने योजना रहेको उनले सुनाए ।
केन्द्रका सचिव रोहिणीप्रसाद कोइरालाले नवरात्री दुर्गापूजा आयोजना गर्दा करिब दुई लाख खर्च भएको जानकारी दिए ।
केही दिनपछि नै आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने आयोजकको योजना छ ।
उनका अनुसार विभिन्न राजनीतिक दलआबद्ध नेता, सामाजिक व्यक्तित्वलगायत सयौंको संख्यामा भक्तजनको सहभागिता थियो ।
ज्येष्ठ नागरिकको हकहितमा काम गर्ने उद्देश्यसहित गत वर्ष मंसिर १९ गते संस्थाको स्थापना भएको थियो ।
सोही उदेश्य पूर्ति गर्ने योजनासहित नवरात्री दुर्गा पूजा आयोजना गरी रकम संकलन गरिएको सचिव कोइराला बताउँछन् ।
समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता ललित श्रेष्ठले पवित्र लक्ष्य बोकेर स्थापित संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
घटस्थापनाको दिनदेखि अष्टमीका दिनसम्म आयोजित पूजामा स्थानीय कलाकारहरूले सन्ध्याकालीन भजनकीर्तन गरी उपस्थित भक्तजनलाई आनन्दित तुल्याएका थिए ।