इलाम । इलामको चुलाचुली गाउँपालिकामा इलाममा बोलेरो गाडी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार साँझ ५:५० बजेतिर चुलाचुली-५ चपेटी रतुवा खोला पार गर्ने क्रममा बाढी आउँदा लु १ ९४९१ नम्बरको गाडी बगेको थियो ।
दमक-लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङसेबुङतर्फ जाँदै गरेको गाडी खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्य भएको हो भने अरू एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका-५ बस्ने अन्दाजी ३१ वर्षीया सर्मिला वानेम र माङसेबुङ-३ बस्ने निरु लिम्बुको छोरा अन्दाजी तीन वर्षीय निहाङ लिम्बु रहेको प्रहरीले जनाएको छ ।
घटनामा माङसेबुङ-३ खलंगे बस्ने अन्दाजी २७ वर्षीया निरु लिम्बुको लाइफलाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ ।
गाडीबाट चालकसहित तीन जना भने सकुशल निस्किएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने डरले तत्काल फरार रहेका चालक माङसेबुङ-५ का २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट भागेका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।