default विराटनगर । शनिबार साँझ मोरङको ग्रामथान गाउँपालिकाको दुई भिन्नाभिन्नै स्थानमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था सामान्य रहे पनि एक बालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
हिजो साँझ ५ः१० बजेतिर ग्रामथान-२ भृकुटी चोकस्थित घिनाघाट पक्की सडकखण्डमा हरैंचाबाट विराटनगरतर्फ आउँदै गरेको को २० प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१०
का अन्दाजी ६५ वर्षीय हेमराज तामाङको बाँया हातमा चोट लागेको थियो ।
मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती अन्दाजी ५० वर्षीया राधा थापाको अनुहार, दाहिने हात, खुट्टामा चोट लागेको थियो ।
दुवै जनालाई उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छ । तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यस्तै, हिजो ५ः५० बजेतिर घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान-७ दीक्षा होटेलनजिक अर्को दुर्घटना भएको थियो ।
सोही सडकखण्ड भएर विराटनगरबाट हरैंचातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलले
पैदल यात्री अन्दाजी सात वर्षीय बालकलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट ग्रामथान-७ कै मातृका परियारको छोरा अर्पण परियार गम्भीर घाइते भएका छन् ।
उनको दाहिने खुट्टा र टाउकोको पछाडि भागमा चोट लागेको छ ।
दुर्घटनालगत्तै उनलाई कोशी अस्पताल, विराटनगर पठाएको छ । उनको हाल उपचार भइरहेको छ ।
दुर्घटनापछि मोटरसाइकल लिएरै चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको देखिएको छ ।