ऋण काढेर बनाएको घर सार्वजनिक जग्गा परेपछि…

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ माघ, २०८०
२ वर्षअघि

सुनवर्षी । सम्पन्न परिवारले त जीवनमा धेरैपटक घर बनाउन सक्छन्, तर आर्थिक अवस्था कमजोर भएको परिवारले भने जीवनमा एकपटक मात्र घर बनाउँछ । झन् बनाएको ऋण तिरिनसक्दै भत्काउनुपर्ने भएपछि कस्तो होला ?

हो यस्तै भएको छ, मोरङको सुनवर्षी नगरपालिकास्थित एक परिवारलाई ।

ऋण काढेर बल्लतल्ल बनाएको घर भत्काउन अदालतले नै आदेश दिएको सुनवर्षी–६ का जोगीलाल दासको परिवार इन्तु न चिन्तु बनेका हुन् ।

वृद्ध उमेरका जोगीलाल दासको बरन्डासहितको चारकोठे पक्की घर छ ।

कुल दुई कठ्ठामध्ये करिब साढे ६ धुरमा तीन वर्षअघि साढे ११ लाख रुपैयाँ खर्चिएर दासले सो घर निर्माण गरेका हुन् ।

घरवरपरको जमिनमा तरकारी लगाएर जीविको धान्दै आएका दासले २०७७ साल फागुनतिर घर निर्माणको काम सकेका थिए ।

खातापातामा अझै पाँच लाख रुपैयाँजति ऋण तिर्न बाँकी रहेको उनलाई स्मरण छ ।

‘जम्माजम्मी साढे पाँच लाख रुपैयाँ ऋण लागेको थियो,’ उनी भन्छन्, ‘त्यसमध्ये अझै आधाजसो ऋण तिर्न बाँकी छ । खोलाले अरू खेत बगाएपछि घरवरपरको खेतमा तरकारी लगाउँदै ब्याज तिर्दैछु । यसबीचमा मुद्दा–मामिला गर्दागर्दै पैसा खर्च भयो ।’

बाबुबाजेले बनाएको फुसको घर भत्काएर पक्की घर बनाएको केही समयमै उनीविरुद्ध मुद्दा चल्यो ।

जानाजान सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै मुद्दा परेपछि तीन वर्षयता उनीहरू न्यायिक निकाय धाइरहेका छन् ।

दास परिवारले बसोबासका लागि आफ्नो कमाइ खर्चिएर बनाएको सो घर सार्वजनिक जग्गामा परेको छ ।

दासले बनाएको घर छिमेकीसमेत रहेका स्थानीय नित्यानन्द सुतिहारका हजुरबुबा घिष्टु सुतिहारले सार्वजनिक इनारका लागि दिएका थिए ।

नापी कार्यालयले पनि दास परिवारले बनाएको घरको अधिकांश भाग सार्वजनिक जग्गामा परेको पुष्टि गरिसकेको छ ।

आफ्नो पुर्खाले दानमा दिएको जग्गा हडपेको भन्दै सुतिहार परिवारले मुद्दा हालेको थियो ।

जसको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले दासको घर भत्काउन आदेशसमेत दिइसकेको छ ।

दासले निर्माण गरेको घरटहरा सार्वजनिक जग्गामा परेको देखिएपछि गएको मङ्सिर १९ गते २१ दिने सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले स्थानीय जोगीलाल दासलाई जग्गा खाली गर्न पत्राचार गरिसकेको छ ।

तर, जोगीलालका परिवार जग्गा खाली गर्न मानेका छैनन् ।

जग्गा खाली गर्दा आफूहरू घरबारविहीन हुने उनीहरूको तर्क छ ।

‘ऋणपान र आफन्त–कुटुम्बको सहयोगमा घर बनायौं, तर बनिनसक्दै मुद्दा पर्‍यो,’ जोगीलालकी श्रीमती उर्मिलादेवी दास भन्छिन्, ‘अब, अर्को घर बनाउन सक्ने स्थितिमा छैनौं । यो घर छोड्दैनौं । नगरपालिकाले जेसिबी चलाउन थाल्यो भने म आत्महत्या गर्छु ।’

साविकको गोविन्दपुर गाविस वडा नं. ८ (क) स्थित कित्ता नं. १०० को १४ धुर जग्गा सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराइएका थियो । जग्गामा शुद्ध खानेपानी खुवाउने उद्देश्यका साथ इनारसमेत निर्माण गरिएको थियो ।

इनारमा उम्रिएको पिपलको बिरुवा बढ्दै रुखमा परिणत भएपछि इनार भग्नावशेष भएको थियो ।

त्यसैको मौका छोपेर सार्वजनिक जग्गा मिच्दै दास परिवारले घर बनाएको सुतिहार परिवारको आरोप छ ।

इनारको नाममा रहेको १४ धुरमध्ये करिब ३ धुर जग्गामा दासको घर परेको छ ।

इनार पुरेपछि छिमेकीसमेत रहेका जग्गाधनीकै परिवारको सहमतिमा घर बनाएको दास परिवारको दाबी छ ।

तर, सुतिहार परिवार भने यो मान्न तयार छैन ।

पहिले एक–अर्कालाई नरनातो नै सम्झने यी दुई छिमेकीबीच अहिले घरकै विषयलाई लिएर झैं–झगडा र बेमेल बढ्दै गएको छ ।

घर बन्नेबित्तिकै सुतिहारको परिवारले नवनिर्मित घर भत्काएर जग्गा खाली गर्न जोगीलाललाई दबाब दिन थाले ।

विषय मुद्दा मामिलासम्म पुग्यो ।

स्थानीय जग्गाधनी घिष्टु सुतिहारका नाती नित्यानन्द सुतिहारले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दासमेत दर्ता गरे ।

अदालतले पनि २०८० वैशाख ४ गते निवेदक सुतिहारको पक्षमा फैसला गरिदियो ।

उच्च अदालतको फैसलाबमोजिम स्थानीय जोगीलालले अहिले आफ्नो सो घर भत्काउनुपर्ने भएको छ ।

तर, सम्पत्तिको नाममा रहेको त्यही एउटा घर पनि भत्काउनुपर्ने भएपछि जोगीलालका परिवार अहिले चिन्तामा छन् ।

आफ्नो जम्मा दुई कठ्ठामध्ये एक कठ्ठा जग्गामा विद्युतको ११ हजार केभिएको हाइटेन्सन पोल रहेको दासको भनाइ छ ।

विद्युत प्राधिकरणले पोलसमेत स्थानान्तरण गर्न नमानेको र जग्गा खाली गराउँदा पोल सारेर उचित क्षतिपूर्ति दिनुपर्ने माग दास परिवारको छ ।

‘गरिबलाई नै सबैतिरबाट अन्याय पर्दोरहेछ हजुर,’ दास भन्छन्, ‘मैले घर बनाउँदा यो सार्वजनिक जग्गा हो भन्ने थाहा थिएन । अब, अदालतले नै घर भत्काउन आदेश दिएपछि त्यो मान्नैपर्छ । तर, हामीलाई क्षतिपूर्ति कसले दिन्छ ?’

दासले त्यसो भनिरहँदा उनको करिब आधा बिघा जमिन देखिएको छ । साविकको गोविन्दपुर ८ ‘ख’ मा जोगीलालको नाममा दुई कित्ता गरी ७ कठ्ठा ११ धुर जमिन देखिएको छ ।

साविक गोविन्दपुर ८ ‘क’ मा रहेको २ कठ्ठा १२ धुरको एउटा कित्ता भने रोक्का भएको मालपोत कार्यालय रंगेलीले जनाएको छ ।

निवेदककै पक्षमा फैसला आएपछि सुतिहारको परिवारले अहिले उक्त स्थानमा मन्दिर, चौतारो तथा खानेपानीको कल निर्माण गर्ने योजना अघि सारेको छ ।

तर, त्यसका लागि जोगीलाल दासले आफ्नो घर भत्काउनुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘इनार, पाटीपौवालगायत सार्वजनिक सम्पत्तिको रक्षा सरकारले गर्नुपर्ने हो । तर, स्थानीय सरकारले चासो नदिँदा मेरो पुर्खाले दिएको सार्वजनिक जग्गा अतिक्रमण भयो । त्यसमा घरटहरा बनाइयो । म मेरै खर्चमा पुनः यहाँ इनार, चौतारी बनाउन चाहन्छु ।’

अदालतको आदेशको अवहेलना गर्दै स्थानीय पालिका र घरधनीले जग्गा खाली नगरेको उनको गुनासो छ ।

‘मैले नै उनीहरूलाई घर बनाउन सहमति दिएको भन्छन्,’ उनले भने, ‘तर, त्यहाँ संरचना बन्नुअघि नै मैले घर नबनाउन सुझाव दिएको थिएँ, अटेर गरेर घर बनाए । अहिले छोड्दिनँ भन्न पाइन्छ ?’

उच्च अदालतको आदेश कार्यन्वयनको क्रममा सुनवर्षी नगरपालिकाले जग्गाको नाप–नक्सा तथा सिमांकनसमेत यकिन गरिसकेको छ ।

जग्गा सार्वजनिक नै ठहरिएपछि हाल नगरपालिकाले पनि जग्गा खाली गराउने सन्दर्भमा ३५ दिने सार्वजनिक सूचना निकाल्ने तयारी गरिरहेको जनाएको छ ।

‘अदालतको आदेश नमाने अवहेलना मुद्दा सहनुपर्छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद दुलाल भन्छन्, ‘कानुनले गरिब–निमुखा भन्दैन । हामीले कानुनअनुसार गर्नैपर्छ ।’

घर बनाउँदा नगरपालिकामा नक्सा पास गरेको भएमा अहिले यो समस्या नआउने दुलालको धारणा छ ।

मोरङको सुनवर्षीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका नागरिकको संख्या गनिनसक्नु छ ।

घर टहरा निर्माण गरी यहाँका अधिकांश वडाको सार्वजनिक जग्गा वर्षौंदेखि अतिक्रमण भइरहेको छ ।

जग्गा अतिक्रमण रोक्न नगरपालिकाले भने पछिल्लो समय अनुगमन थालेको जनाएको छ ।

प्रकाशित समय: बिहिबार १८ माघ, २०८०, ०७:००:१८
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०