विराटनगर । कोसी प्रदेश सरकारले सय दिन पुगेको अवसर पारेर आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री केदार कार्कीले सय दिन पूरा गरेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेस आठ गरी ४७ सांसदको सनाखत गराएर कार्की गत असोज १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता आफूले गरेका उपलब्धिहरू मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेका हुन् ।
कार्कीले झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा कम्बल वितरणदेखि लिएर अस्पताल उद्घाटनसम्म र प्रदेश नामकरणको विषयमा आन्दोलित पचिान पक्षधरसँग वार्ताको समिति बनाएकोदेखि लिएर प्रहरी समायोजनसम्मको फेहरिस्त लगाएका हुन् ।
आफ्ना उपलब्धिहरूमा उनले शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका–११, पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस्टसँग सम्झौता गरिएको उपलब्धि विवरणमा समेटेका छन् ।
यस्तै, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चारवटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको हेटौंडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णयगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको पनि उनले उल्लेख गरेका छन् ।
यसैगरी, कार्कीले प्रदेशसभामा राप्रपाका सांसद अम्बरबहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुख चयन गर्न सफल भएको विषय पनि उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
कार्कीले प्रदेशसभा खारेजको माग गर्दै आएका राप्रपाका विष्टलाई सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित गराएर प्रदेसभामा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको बताएका छन् ।
प्रदेशसभाको विशुद्ध क्षेत्राधिकारमा पर्ने सभामुख चयनलाई पनि सरकारले आफ्नो उपलब्धिमा गनेको भन्दै पत्रकारको जिज्ञासाप्रति मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशसभामा सरकारका प्रतिनिधि पनि हुनुहुन्छ । सभामुख पनि चयन गर्न नसक्ने सरकार भन्दै सांसदहरूले सदनमा गरेको सवालका कारण पनि हामीले यसलाई उपलब्धिका रूपमा राखेका हौं ।’
सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ लगायत विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।