देशका विभिन्न स्थानमा रहेका सात वटा प्रतिष्ठानले १२३ जना श्रमिकलाई नियुक्तिपत्र नदिई काममा लगाएको पाइएको छ । युवा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायले गरेको अनुगमनका क्रममा श्रमिकको पारिश्रमिक, सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षासम्बन्धी व्यवस्थामा समेत कमजोरी भेटिएको हो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र विभिन्न श्रम तथा रोजगार कार्यालयका टोलीले कात्तिक १८ गते विभिन्न प्रतिष्ठानमा अनुगमन गरेका थिए । त्यसक्रममा नियुक्तिपत्र नदिने, श्रम अडिट नगर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध नगराउने र न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएका छन् ।
झापाको मेचीनगरस्थित होटल अश्वत्थमा १० जना श्रमिक नियुक्तिपत्रबिना कार्यरत रहेको भेटिएको छ । होटलले विनियमावली नबनाएको, सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्ध नगरेको र चाडपर्व खर्चको व्यवस्था नगरेको पनि पाइएको छ । टोलीले समस्या समाधान गरी सात दिनभित्र श्रम अडिट प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
रुपन्देहीको तिलोत्तमास्थित होटल पौवामा ६० जना र उमाइ गार्डेन रिसोर्टअन्तर्गतको उमइ मेन्चर्स प्रालिमा २० जना श्रमिक नियुक्तिपत्रबिना काम गरिरहेको पाइएको छ । त्यस्तै, इटहरीस्थित कुनाल स्टोरमा सात जना श्रमिक नियुक्तिपत्रबिना कार्यरत रहेको तथा श्रम अडिट र सामाजिक सुरक्षा कोषमा आबद्धताको प्रक्रिया पूरा नगरेको भेटिएको छ ।
महेन्द्रनगरस्थित न्यूरिया कलेक्सन र आरती बस्त्रालयमा गरिएको अनुगमनका क्रममा एक श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको र अर्का एक जनालाई नियुक्तिपत्रबिना काममा लगाइएको पाइएको छ । टोलीले रोजगार सम्झौता गर्न र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ ।
यता, ललितपुरस्थित अविरल डेरी प्रालिमा ४५ जना श्रमिक नियुक्तिपत्रबिना काम गरिरहेको भेटिएको छ । प्रतिष्ठानले श्रम अडिट नगरेको, श्रमिकलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पूर्ण रूपमा उपलब्ध नगराएको, बैंकिङ प्रणालीबाट तलब भुक्तानी नगरेको र सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएको पनि अनुगमनबाट खुलेको छ ।
अनुगमन टोलीहरूले सम्बन्धित प्रतिष्ठानलाई श्रम कानुनअनुसार आवश्यक सुधार गर्न निर्देशन दिएका छन् । यसले विभिन्न प्रतिष्ठानमा श्रमिकको नियुक्ति, पारिश्रमिक, सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षासम्बन्धी कानुनी प्रावधान कार्यान्वयनमा अझै कमजोरी रहेको देखाएको छ ।