जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार आगामी मंसिर ६ गतेदेखि हुने प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्नेगरी तयारी अघि बढाइएको हो।
यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको पराजुलीले बताएका छन्। उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन।
रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको कम्पनीले जनाएको छ। रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या रेलमार्फत जोडिँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउन पनि सहयोग पुग्ने बताएका छन्।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।