कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेशका ५८ प्रजातिका जडीबुटी निकासीबाट उक्त राजस्व संकलन भएको हो।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सबैभन्दा बढी राजस्व झ्याउबाट संकलन भएको छ। एक लाख ८१ हजार ६०९ किलोग्राम झ्याउ निकासीबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिएका छन्।
त्यस्तै, ९६ हजार ७९२ किलोग्राम जटामसी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन भएको छ। यार्सागुम्बाबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा भने २५१ किलोग्राम ६५६ ग्राम मात्र निकासी भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, कटुसीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ, सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ र टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा कर्णाली प्रदेशभर २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ किलोग्राम जडीबुटी संकलन भएको थियो। त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ किलोग्राम जडीबुटी प्रदेशबाट निकासी गरिएको छ।
प्राकृतिक स्रोत र जैविक विविधताले सम्पन्न कर्णालीमा जडीबुटी निकासी प्रदेशको राजस्व आम्दानीको महत्त्वपूर्ण स्रोतका रूपमा देखिएको छ।