विराटनगर- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विराटनगरस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राठी केबल्समा उक्त रकम लगानी गर्ने निर्णय गरेको हो।
उद्योग क्षेत्रमा लगानी विस्तार तथा उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्ने उद्देश्यसहित एनआरएन इन्फ्रास्ट्रक्चरले राठी केबल्समा लगानी गर्न लागेको हो। यस लगानीले उद्योगको व्यावसायिक विस्तार, उत्पादन क्षमता अभिवृद्धि तथा औद्योगिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
विराटनगर औद्योगिक क्षेत्रको स्थापित उद्योगका रूपमा रहेको राठी केबल्समा लगानी गर्ने एनआरएन इन्फ्रास्ट्रक्चरको निर्णयलाई निजी क्षेत्रको उत्पादनमूलक उद्योगप्रतिको विश्वासका हेरिएको छ। औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले राठी केबल्समा यो लगानी गर्न लागेको हो।
कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्य कार्यालय रहेको राठी केबल्स नेपालको अग्रणी केबल उत्पादक कम्पनी हो। संघीय राजधानी काठमाडौंमा समेत आफ्नो शाखा विस्तार गरेको यस कम्पनीले विद्युत उद्योगमा दुई दशकभन्दा बढीको अनुभवसहित आफूलाई नेपालको विश्वसनीय केबल उत्पादकका रूपमा स्थापित गरेको छ।
कम्पनीले घरायसी वायरिङदेखि औद्योगिक तथा विद्युत प्रसारणमा प्रयोग हुने विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको छ। यसको उत्पादनमा पावर केबल, एसीएसआर कन्डक्टर, एफआरएलएस तथा जिरो ह्यालोजन केबललगायत छन्। नेपालका आवासीय, व्यावसायिक, औद्योगिक तथा पूर्वाधार क्षेत्रमा विद्युतसम्बन्धी आवश्यकता पूरा गर्न कम्पनीले आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ।