विराटनगर । बिर्तामोडको बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त १०९ किलो माछा र मासु बरामद गरी नष्ट गरिएको छ।
बिहीबार बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुगमन टोलीले ८३ किलो मासु र २६ किलो माछा फेला पारी खाल्डोमा गाडेर नष्ट गरेको हो।
अनुगमनका क्रममा केही पसलमा प्यान नम्बरसमेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेको उपप्रमुख संग्रौलाले बताए।
उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गतिविधि रोक्न अनुगमन गरिएको जनाउँदै उनले अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
अनुगमनमा पशु सेवा कार्यालय, उपभोक्ता जागरण अभियान, इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधिको सहभागिता थियो।