जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। बुधबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो।
सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा बिपनाका श्रीमान् ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। दुर्घटना हुनुको कारणबारे थप विवरण आउन बाँकी छ।