यस वर्ष स्याउ उत्पादन बढे पनि सडक अवरोधका कारण मुस्ताङमा उत्पादित स्याउको निकासी प्रभावित भएको छ। हालसम्म जिल्लामा उत्पादन भएको स्याउमध्ये ३० प्रतिशत मात्रै जिल्ला बाहिर पठाइएको छ।
असोज ११ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ बजारसम्म पुर्याउन समस्या भएको हो। सडक सञ्चालनमा आएपछि भने किसान र व्यापारीले स्याउ टिपेर बिक्रीका लागि पठाउन थालेका छन्।
कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार सामान्य अवस्थामा यतिबेलासम्म करिब ७० प्रतिशत स्याउ बजारमा पुगिसक्नुपर्ने थियो। तर, सडक अवरुद्ध हुँदा ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। उत्पादित स्याउमध्ये करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन बढेकाले यस वर्ष करिब दुई अर्ब रुपैयाँ बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ।
सडक मर्मतपछि यातायात सञ्चालनमा आए पनि आवागमन अझै सहज भइसकेको छैन। उता, स्याउ बिक्री गर्ने मुख्य याम घर्किन लागेपछि किसानहरू छिटोछिटो स्याउ टिपेर बजार पठाउन व्यस्त भएका छन्।
घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक खुलेको दुई दिनमै छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। तर, अहिलेसम्म उत्पादनको ३० प्रतिशत मात्रै बजारमा पुर्याउन सकिएको उनले बताए।
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। यसपटक सडक अवरोधले यही मुख्य बिक्रीको समय प्रभावित भएपछि किसान र व्यापारीलाई स्याउको बिक्री तथा व्यवस्थापनमा चुनौती थपिएको छ।
जिल्लास्तरीय निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न पाउने व्यवस्था गरिएको थियो। अहिले मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादित स्याउ बिक्रीका लागि बाहिरी बजार पठाउन थालिएको छ।