विराटनगर । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको समुद्री सतहको तापक्रम नयाँ उचाइमा पुगेको भन्दै वैज्ञानिकहरूले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन्।
युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार प्रशान्त महासागरको ‘निनो ३.४’ क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम २९।७० डिग्री सेल्सियस पुगेको थियो। यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो।
गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो भने विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस मापन गरिएको थियो। यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री सेल्सियस बढी हो।
एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो, जसले विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ। यसको प्रभावले कतै खडेरी त कतै अत्यधिक वर्षा र बाढीको जोखिम बढ्न सक्छ।
वैज्ञानिकहरूका अनुसार एल निनो र जलवायु परिवर्तनको संयुक्त प्रभावले आगामी वर्षहरूमा तापक्रम वृद्धिको जोखिम बढाउन सक्छ। यसलाई नियन्त्रण गर्न जीवाश्म इन्धनको प्रयोगबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु आवश्यक रहेको उनीहरूको जोड छ।