विराटनगर । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध जापानको स्थायी आवासीय अनुमति , घरसम्पत्ति र राजनीतिक निकटताको विषय उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
जापानमा बस्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दिँदै थापाको नाम अनुमोदन नगर्न माग गरेका छन्।
उजुरीमा थापाले सन् २०१८ मा जापानको पीआर लिएको र कानागावामा घर रहेको दाबी गर्दै स्वार्थको द्वन्द्व हुन सक्ने आशंका व्यक्त गरिएको छ।
त्यस्तै,रास्वपाका नेताहरूसँगको निकटताका आधारमा थापालाई राजदूतमा सिफारिस गरिएको आरोप लगाउँदै छनोट प्रक्रियाको पारदर्शितामाथि छानबिन गर्न माग गरिएको छ।
यसैबीच, भारतका लागि प्रस्तावित राजदूत डा.निश्चलनाथ पाण्डेसम्बन्धी पत्रलाई समितिले सुझावका रूपमा लिएको छ भने साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीबारे गोप्य छलफल अघि बढाइएको छ।