गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुःख व्यक्त गरेका छन्। उनले बाढी प्रभावित नागरिकको उद्धार, जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा क्षति पुर्याउनुका साथै पुल तथा घरहरू बगाएको घटनाप्रति खनालले चिन्ता व्यक्त गरेका हुन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्। साथै, बाढीको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न केन्द्रीय तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरेका छन्।
खनालले विपद्को यस घडीमा पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई सरकार र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत वितरण तथा स्वयंसेवी कार्यमा सक्रिय हुन पनि आह्वान गरेका छन्।
प्रभावित नागरिकको सुरक्षित उद्धार र मानवीय सहयोगमा ढिलाइ नगर्न उनले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।