विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको स्पष्ट पारेको हो।
इन्टरनेट सेवा प्रदायकले आफूले प्राप्त गरेको स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ।
स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न पाइँदैन।
प्राधिकरणले प्रचलित कानुनविपरीत शुल्क असुल गर्ने वा अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।