Tribhuwan University image त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षको दीक्षान्त समारोह सातै प्रदेशमा आयोजना गर्ने तयारी गरेको छ। दीक्षान्त समारोहलाई सहज, व्यवस्थित र विकेन्द्रीकृत बनाउने उद्देश्यले विश्वविद्यालयले यस्तो योजना अघि सारेको हो।
त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थीको संख्या ठूलो हुँदै गएको र सबैलाई काठमाडौं केन्द्रित समारोहमा सहभागी गराउन चुनौती थपिएकाले सातै प्रदेशबाट दीक्षान्त समारोह सञ्चालन गर्ने तयारी गरिएको हो।
यस वर्ष त्रिविबाट कुल ९५ हजार ५ सय ४० विद्यार्थी दीक्षित हुने भएका छन्। तीमध्ये सबैभन्दा धेरै ४३ हजार १ सय ४२ जना व्यवस्थापन संकायका विद्यार्थी छन्। त्यस्तै शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङलगायत विभिन्न संकायका विद्यार्थी पनि दीक्षित हुनेछन्।
रजिस्ट्रार शिवाकोटीले दीक्षान्त समारोहलाई प्राज्ञिक, मर्यादित र व्यवस्थित बनाउन प्रदेशस्तरबाट कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन्। त्रिविले देशभर उच्च शिक्षाको ठूलो हिस्सा ओगट्दै आएको अवस्थामा सेवा र शैक्षिक गतिविधिलाई विकेन्द्रीकरण गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।
यता, त्रिविले परीक्षा समयमै सञ्चालन गर्ने, नतिजा छिटो प्रकाशन गर्ने र डिजिटल प्रणाली विस्तार गर्ने चुनौतीसमेत सामना गरिरहेको छ। शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्न तथा शैक्षिक क्यालेन्डर प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने त्रिविको तयारीले विद्यार्थीलाई समारोहमा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ। यद्यपि, प्रदेशगत कार्यक्रमको विस्तृत तालिका र सञ्चालनसम्बन्धी व्यवस्था भने विश्वविद्यालयको आधिकारिक घोषणापछि स्पष्ट हुनेछ।