विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा एक स्थान तल झरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७८औँ स्थानमा पुगेको हो।
नेपालले पछिल्लो पटक गत मार्च ३१ मा अन्तर्राष्ट्रिय खेल खेलेको थियो। उक्त खेलमा नेपाल लाओससँग पराजित भएको थियो।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई निलम्बन गरेको ६ दिनपछि नेपालले उक्त अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
त्यसयता नेपाली फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउन सकेको छैन।
यसैबीच, गत जुन २४ मा फिफाले पनि नेपाललाई निलम्बन गरेको थियो।