विराटनगर- अपांगता भएका व्यक्तिलाई आर्थिक व्यवस्थापन, बचत तथा सुरक्षित आवासका विषयमा व्यावहारिक ज्ञान दिने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिका-२ मा आठदिने वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी तालिम सञ्चालन भइरहेको छ।
रामसीता माध्यमिक विद्यालयमा रहेको अपांगता स्रोत शिक्षा भवनमा सञ्चालन भइरहेको तालिममा बर्जु गाउँपालिकाका विभिन्न वडामा गठन भएका ‘मिलिजुली समूह’का २२ जना सहभागी छन्। सहभागीलाई वित्तीय निर्णय लिन, आम्दानीअनुसार खर्च व्यवस्थापन गर्न तथा भविष्यका लागि बचत गर्ने बानी विकास गर्न आवश्यक ज्ञान र सीप प्रदान भइरहेको छ।
सहारा नेपाल र ह्याबिट्याट फर ह्युमानिटी नेपालको साझेदारीमा सञ्चालित ‘होम्स नेपाल परियोजना’अन्तर्गत तालिम आयोजना गरिएको हो। परियोजनाले आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायमा वित्तीय पहुँच विस्तार गर्नुका साथै सुरक्षित र व्यवस्थित आवास निर्माणका लागि आवश्यक जानकारी तथा सेवासम्म पहुँच पुर्याउने उद्देश्य राखेको छ।
तालिमको सहजीकरण आकृति रानी फुयालले गरिरहेकी छिन्। सहभागीलाई बचतको महत्त्व, बीमाको आवश्यकता, पारिवारिक बजेट निर्माण, आम्दानी र खर्चको हिसाब राख्ने तरिका तथा उपलब्ध स्रोतको उचित व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान भइरहेको जिल्ला अधिकृत लक्ष्मी भण्डारीले जानकारी दिइन्।
उनका अनुसार तालिमलाई केवल वित्तीय विषयमा सैद्धान्तिक जानकारी दिनेभन्दा पनि सहभागीको दैनिक जीवनसँग जोडेर व्यावहारिक बनाइएको छ। सीमित आम्दानीबाट परिवारको आवश्यकता पूरा गर्ने, अनावश्यक खर्च पहिचान गर्ने, नियमित रूपमा बचत गर्ने तथा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमका लागि तयारी गर्ने विषयमा सहभागीलाई अभ्याससहित जानकारी दिइँदै आएको छ।
त्यस्तै आवश्यकता र चाहनाबीचको अन्तर पहिचान गर्न तथा आफ्नो आर्थिक क्षमताअनुसार निर्णय लिन सक्ने बनाउन पनि तालिममा जोड दिइएको छ। आम्दानी कम भए पनि त्यसलाई व्यवस्थित रूपमा परिचालन गर्न सके परिवारको आर्थिक अवस्था सुधार गर्न सकिने विषयमा सहभागीलाई अभिमुखीकरण गरिँदै आएको भण्डारीले बताइन्।
अपांगता भएका व्यक्तिका लागि वित्तीय पहुँच र सुरक्षित आवास दुवै महत्त्वपूर्ण विषय भएकाले परियोजनाले यी पक्षलाई एकीकृत रूपमा अघि बढाएको जनाएको छ। वित्तीय ज्ञानको अभाव, बचतको कमजोर अभ्यास तथा बैंकिङ र बीमासम्बन्धी सेवाको सीमित पहुँचका कारण विपन्न समुदायले विभिन्न आर्थिक जोखिम सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको हो।
तालिमको अवलोकन गर्दै रामसीता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण मेहता र बर्जु गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जुकुमारी शर्माले लक्षित समुदायका लागि कार्यक्रम उपयोगी रहेको बतांए। उनीहरूले अपांगता भएका व्यक्तिलाई सामाजिक रूपमा मात्र नभइ आर्थिक रूपमा समेत सक्षम बनाउने यस्ता कार्यक्रमले आत्मनिर्भरता बढाउन सहयोग पुग्ने धारणा राखे।
परियोजनाले विपन्न तथा सीमान्तकृत महिला, युवा र अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। कोशी र मधेश प्रदेशका सुनसरी, उदयपुर, सिरहा, सप्तरी र धनुषा गरी पाँच जिल्लाका २० स्थानीय तहमा परियोजना सञ्चालनमा छ।
परियोजनामार्फत समुदायमा वित्तीय साक्षरता बढाउनेसँगै आवाससम्बन्धी आवश्यक सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। विशेषगरी आवास कर्जा, हरित ऊर्जा कर्जा तथा आवास बीमाको पहुँच र प्रयोग बढाउँदै विपन्न तथा सीमान्तकृत परिवारलाई सुरक्षित र व्यवस्थित आवास निर्माणतर्फ प्रोत्साहन गर्ने योजना रहेको जिल्ला अधिकृत भण्डारीले जानकारी दिइन्।
बर्जु-२ मा सञ्चालन भइरहेको तालिमले अपांगता भएका व्यक्तिलाई आफ्नो आर्थिक अवस्था बुझेर खर्च व्यवस्थापन गर्न, बचतको अभ्यास विकास गर्न र भविष्यका लागि वित्तीय योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यससँगै सुरक्षित आवाससम्बन्धी जानकारीले सहभागी तथा उनीहरूका परिवारलाई सुरक्षित, दिगो र आवश्यकताअनुकूल आवास निर्माणका विषयमा निर्णय लिनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।