भैरहवा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित एक महिला भैरहवाबाट पक्राउ परेकी छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिटोल गेटमा जाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई पक्राउ गरेको हो ।
उनको साथबाट २ किलो ६०५ ग्राम बराबरका विभिन्न तयारी सुनका गरगहना बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीका सूचना अधिकारी डीएसपी दुर्गा बहादुर थापाका अनुसार बरामद गरगहनाको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको छ ।
रुपन्देही सुनचाँदी व्यवसायी संघसँगको समन्वयमा परीक्षण गर्दा बरामद गरगहना सुन भएको प्रमाणित भएको डीएसपी थापाले बताए ।
भारतबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख डीएसपी गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी सहायक निरीक्षक लालबहादुर केसीको टोलीले पटेललाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार पटेलको साथबाट ९ थान हार, ८१ थान औंठी, थप १४ थान औंठी, १३ थान चुरा, ४ थान माला, हसुली किसिमका ८ थान सिक्री, विभिन्न डिजाइनका २४ थान सिक्री, पत्थरसहितका २० थान झुम्का, अन्य २४ थान झुम्का र साना झुम्का १० पिस बरामद भएका छन् ।
त्यस्तै, १ थान लकेट (जन्तर), १७ थान पोते, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ पिस नाकको फुली, २ पिस पत्थरवाला हार, ११ जोर कानको बाली र ८ पिस ब्रासलेटसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरगहनासहित पक्राउ परेकी पटेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरिएको छ ।
रूपन्देहीका विभिन्न सीमा नाकाबाट खुला सीमाको फाइदा उठाउँदै घरायसी सामानसँगै सुनसमेत अवैध रूपमा भित्र्याउने क्रम बढेको सुरक्षा निकायको भनाइ छ ।